Ad Image

गोदावरी नगरपालिका वडा नं १३ लाई ‘बालमैत्री वडा’ घोषणा गरिँदै

User Image Mayorsap | ४ हप्ता अगाडि
Image of storage/news/1745326070.jpeg

ललितपुर । जिल्लाको गोदावरी नगरपालिका वडा नं १३ लाई ‘बालमैत्री वडा’ घोषणा गरिने भएको छ । बुधबार (भोलि) वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरेर वडालाई ‘बालमैत्री स्थानीय सुशानयुक्त’ वडा घोषणा गर्ने भएको हो ।

 

वडाले नगरपालिकाको समन्वयमा वडालाई बालमैत्री घोषणा गर्न लागेको हो । बालमैत्री वडा घोषणा गर्नका लागि वडाले सबै प्रक्रिया पूरा गरेको वडाध्यक्ष भाष्कर थापाले बताए । उनले भने, ‘हामीले वडालाई बालमैत्री बनाउन लामो समयदेखि विभिन्न कार्यक्रम गर्दै आएका छौं । वडालाई बालश्रम मुक्त बनाउने, बालविवाह मुक्त बनाउने, निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा उपलब्ध गराउने लगायतका आवश्यक मापदण्ड पूरा गरेका छौं । वडा बालमैत्री  बनिसकेको छ । औपचारिक उद्घाटन बाँकी छ । त्यो पनि भोलि कार्यक्रम आयोजना गरेर घोषणा गर्दैछौं ।’

 

नगरपालिकाको समन्वयमा १३ नम्बर वडाले वैशाख मसान्तभित्र वडालाई बालमैत्री बनाउने उद्देश्य राखेको थियो । वडालाई बालमैत्री बनाउन नगरपालिका र वडामा विभिन्न कार्यक्रम तथा अभियानहरु सञ्चालन गरिएका थिए ।

 

यस अघि गोदावरी नगरपालिकाले सूचना जारी गरेर वडा १३ भित्रका निजी व्यवसाय, प्रतिष्ठान तथा नागरिकहरुलाई बालबालिकालाई श्रममा नलगाउन आग्रह समेत गरेको थियो । नगरपालिकाले गत चैत ५ गते जारी गरेको सूचनामा निजी तथा सार्वजनिक होटेल रेष्टुराँहरु, पार्टी प्यालेस, क्याटेरिङ सेवा, साना तथा मझौला, ठूला कलकारखना, उद्योगहरु –ईटा उद्योग, गलैँचा कारखना, खुद्रा पसल, सप्लायर्सहरु, मोटर ग्यारेजहरु, वर्कसपहरु, यातायात व्यवसायहरु, निर्माण व्यवसायहरु, कृषि तथा उत्पादनमूलक व्यवसायका सम्पूर्ण उद्यमी तथा व्यवसायीलाई सम्बोधन नै गरेर बालबालिकालाई श्रममा नलगाउन र वडालाई बालमैत्री बनाउने उद्देश्यमा सहयोग गर्न आग्रह गरेको थियो ।