प्रधानमन्त्री ओली र विश्वकप विजेता रोबर्टो कार्लोसबीच भेट


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोसबीच भेट भएको छ ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग फुटबल खेलाडी रोबर्टो कार्लोसले भेट गरेका हुन् ।
नेपाल सुपर लिग हेर्न मंगलबार नेपाल आएका ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी कार्लोस र प्रधानमन्त्री ओलीबीचको भेटमा नेपालमा खेलकुद क्षेत्रको उन्नयनका बारेमा छलफल भएको छ ।
प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई ‘माउन्टेन फ्ल्याइट’ र जङ्गल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे ।
आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लोसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताए ।
५२ वर्षका कार्लोसले सन् १९९२ देखि सन् २००६ सम्म ब्राजिलको टोलीबाट खेलेका थिए । कार्लोस शुक्रबार नै नेपाल आउने कार्यक्रम रहे पनि स्वास्थ्य अवस्थाका कारण आउन सकेका थिएनन् ।