Ad Image

ललितपुर महानगर–२१ ले बालबालिकाको विकासका लागि कार्यक्रम गर्दै, मोबाइल र ‘जङ्कफुड निषेध

User Image Mayorsap | ४ हप्ता अगाडि
Image of storage/news/1745412403.PNG

ललितपुर । ललितपुर माहानगरपालिका वडा नं २१ ले बालमैत्री स्थानिय थलो व्यवस्थापन र अतिरिक्त क्रियाकलाप कार्यक्रम सञ्चालन गर्ने भएको छ । वडा कार्यालय र वडास्तरीय बाल अधिकार समितिको समन्वयमा आगामी शनिबार बाल सहभागिता तथा बाल अभिमुखिकरण कार्यक्रम अन्तर्गत बालमैत्री स्थानिय थलो व्यवस्थापन र अतिरिक्त क्रियाकलाप कार्यक्रम सञ्चालन हुने भएको हो ।


कार्यक्रमका लागि वडा कार्यालयले आज एक सूचना जारी गर्दै शनिबार सिकाली चौरमा हुने कार्यक्रममा आफ्ना बालबालिकालाई सहभागी गराउन अभिभावकसमक्ष आग्रह गरेको छ । ८ वर्षदेखि १४ वर्षसम्मका बालबालिकालाई कार्यक्रममा सहभागी गराउन सक्ने सूचनामा उल्लेख छ ।

 

कार्यक्रममा बालबालिकालाई मौलिक खेल खेलाउने, मौलिक बाजागाजा बजाउन सिकाउने, नेवारको बाहुल्यता रहेको क्षेत्र भएकाले नेवारी संस्कार, नेवारी बाजा, नेवारी पोषाकको बारेमा बालबालिकालाई जानकारी गराउने उद्देश्य राखिएको वडा कार्यालयले जनाएको छ । त्यसैगरी कार्यक्रममा ‘जंकफुड’ लाई प्रतिबन्ध गरिएको र अभिभावकलाई घरबाटै खाजा बनाएर ल्याउन आग्रह गरेको समेत वडाध्यक्ष रबिन्द्र महर्जनले जानकारी गराए ।

 

दैनिक विद्यालयको पढाइ र मोबाइल फोनमा मात्र व्यस्त हुने बालबालिकालाई मौलिक पहिचान सहितको ‘रिफ्रेसमेन्ट’ का लागि समेत कार्यक्रम प्रभावकारी हुने वडाध्यक्ष महर्जनको भनाइ छ । उनले भने, ‘आजभोलि बच्चाहरु फुर्सदको समयमा अन्य खेल खेल्ने चलन कम भइसकेको छ । बच्चाहरु मोबाइल फोनमा मात्र व्यस्त देखिन्छन् । त्यसैले बालबालिकाको यस्तो दैनिकीबाट रिफ्रेसमेन्ट होस् भनेर पनि कार्यक्रम गरेका छौं ।’

 

बालबालिकालाई पत्यक्ष सहभागी गराएर आफ्नो मौलिक पहिचानबारे जानकारी दिने उद्देश्यले आयोजना गरेको यस्तो कार्यक्रमबाट बालबालिकामा सामाजिक सहभागीता तर्फको आकर्षण समेत बढ्ने अध्यक्ष महर्जनको भनाइ छ । उनले बालबालिकालाई मोबाइल फोन, जंकफुडबाट टाढा राख्ने, आफ्नो मौलिक ठाउँ र मौलिक पहिचानबारे जानकारी गराउने कार्यक्रमको मुख्य उद्देश्य भएको बताए ।