Ad Image

पत्नीबाट अलग भए सीके राउत, रानीलाई काठमाडौंमा घर र मासिक ३३ हजार दिनुपर्ने

User Image Mayorsap | ४ हप्ता अगाडि
Image of storage/news/1745502730.jpg

काठमाडौं । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत पत्नीसँग अलग भएका छन् । ललितपुर जिल्ला अदालतमा उनीहरु सम्वन्धविच्छेदबिनै एक–अर्कासँग अलग हुन राजी भएका हुन् । ०८१ भदौं १२ मा राउतले पत्नी सोनी सिन्धु रानीसँग सम्वन्धविच्छेदका लागि मुद्दा दायर गरेका थिए । सो मुद्दालाई मंगलबार न्यायाधीश निर्मला योङ्याको एकल इजलासले मिलापत्रमा पठाउने आदेश दिएपश्चात बुधबार सहमति भएको हो ।

 

मुद्दा सहमतिमा टुङ्गिएपछि डा. राउतले आफ्नो सचिवालयको फेसबुक पेजमा पत्नीसँगको तस्बिर पोष्ट गरेका छन् । सहमतिअनुसार डा. राउत र पत्नी सोनी सँगै बस्ने छैनन् । राउतले पत्नीलाई आजीवन मासिक ३३ हजार हजार रूपैयाँ दिन सहमति जनाएका छन् । यो रकम हरेक वर्ष १० प्रतिशत बढाउनुपर्ने सहमतिपत्रमा उल्लेख छ ।

 

डा. राउत दम्पत्तिका तीन सन्तान (दुई छोरी र एक छोरा) छन् । तीनै सन्तानलाई बाबुसँग रहने र उनैले पालनपोषण गर्ने सहमति समेत भएको छ । राउतले आफ्नो सम्पत्तिको पाँच भाग लगाएर एक भाग पत्नीलाई दिनेछन् । सन्तानको भागमा पर्ने तीन भाग सम्पत्ति राउतकै नाममा रहनेछ । 

 

भविष्यमा गर्ने कमाईमा पत्नी सोनीको हक लाग्ने छैन । राउतले पत्नीलाई अंशबापत काठमाडौंमा दिएको जग्गामा घर बनाइदिने पनि सहमति गरेका छन् । सिके राउत र सिन्धु कानूनतः श्रीमान–श्रीमतीकै सम्वन्धमा रहने भएकाले दुवैजनाले अर्को विहे गर्न पाउँदैन । व्यवहारिका रुपमा भने उनीहरु अलग–अलग भएका छन् ।