ठगी कार्यमा संलग्न पाँच जना बंगलादेशी नागरिक पक्राउ


काठमाडौं । बंगलादेशी नागरिकहरूलाई नेपाल हुँदै वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जना बंगलादेशी नागरिक प्रकाउ परेका छन् ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका - ९ कालिमाटीडोल बस्ने बंगलादेश चट्टोग्राम मोबारक गोना घर भएका ५० वर्षीय माेहम्मद माेस्ताफीजुर रहमान, बंगलादेश चाँदपुर तोरागर हाजिगंज घर भएका ४१ वर्षीय माेहम्मद फर्हाद हुसैन चाैधरी र बंगलादेश चाँदपुर हाजीगाउँ बाराकोल घर भएका ४६ वर्षीय cअबु युसुफ मद् हानिफ तथा काठमाडौं महानगरपालिका-८ गौशाला बस्ने बंगलादेश मागुरा मागुरासदर थाना बेरोइल ग्राम घर भएका ४७ वर्षीय मिल्तान भन्ने काजि शहताब हुसैनर बंगलादेश बागिरथ सदर थाना कान्दापरा घर भएका ४० वर्षीय अजिम मलिक रहेका छन् ।
उनीहरूले नेपाल हुँदै वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्भिया, अल्बानिया लगायतका मुलुकहरूमा पठाउन सहज हुने भनि एजेन्टमार्फत पर्यटक भिसामा बंगलादेशी नागरिकहरूलाई नेपाल बोलाई प्रति ब्यक्ति ३५ सय अमेरिकन डलरको दरले १३ जना पीडितहरूबाट ४५ हजार ५ सय अमेरिकन डलर लिई सम्पर्कबिहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित शिव सताक्षी गेष्ट हाउसबाट उनीहरू पक्राउ परेका हुन । उनीहरूको साथबाट राहदानी १९ थान, मोबाइल ४ थान, अमेरिकन डलर ९ हजार ८ सय ५०, बंगाली टाका ३९ हजार ९ सय ५ र नेपाली रूपैयाँ २५ हजार समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कार्बाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।