आईपीएलमा १४ वर्षीय सूर्यवंशीको कीर्तिमान, ३५ बलमा हाने शतक


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार राजस्थान रोयल्स र गुजरात टाइटन्सबीचको खेल भएको थियो । यस खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै गुजरातले २०९ रनको विशाल स्कोर बनायो । जुन खेलमा गुजरातका लागि शुभम् गिल र जोस बटलरले अर्धशतकीय पारी खेलेका थिए।
जवाफी ब्याटिङमा राजस्थान रोयल्सको तर्फबाट मैदान उत्रेका १४ वर्षका खेलाडी वैभव सूर्यवंशीले रनको भारी वर्षाए । उनले ३५ बलमा शतक प्रहार गरे । ओपनरका रुपमा उनले पहिलो १७ बलमा ६ छक्का र ३ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे।
उनले आईपीएल इतिहासमा दोस्रो द्रुत शतक बनाए । योसँगै उनले ३७ बलमा शतक प्रहार गर्ने युसुफ पठानको कीर्तिमान तोडेका छन् । साथै, उनी आईपीएल इतिहासमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बनेका छन् ।
यसबाहेक उनी क्रिस गेलपछि आइपिएलमा सबैभन्दा छिटो शतक बनाउने विश्वकै दोस्रो खेलाडीसमेत बनेका छन् । आफ्नो शतकीय पारीका आधारमा उनले राजस्थानको जित सुनिश्चितसमेत गरे । अन्ततः खेल राजस्थानले ८ विकेटले जित्यो ।