Ad Image

लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745930014.jpg

काठमाडौं ।  देशका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी, बर्जु गाउँपालिका ३ नहर चोकबाट करिब १ सय ९९ किलो ३ सय ग्राम लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेहरूमा धनकुटा जिल्लाको धनकुटा नगरपालिका–९ बस्ने ३३ वर्षीय उद्धव भण्डारी र ३० वर्षीय कबिराज राई रहेका छन् । उनीहरुलाई लागूऔषधसहित इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरीले सोमबार राति पक्राउ गरेको हो ।



भीमपुरबाट अमडुवातर्फ जाँदै गरेको प्र-१-०२-००२ च-५१२६ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा गाडीको ढालामा लुकाई छिपाई ल्याएको ६ वटा बोरा भित्र उक्त परिमाणको गाँजा भेटिएको प्रहरीले बताएको छ । पक्राउ पर्ने पिकअप गाडीका चालक र सहचालक रहेको प्रहरीले जानकारी दिएको छ ।

 

त्यस्तै, सोमबार दिउँसो मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित सुकुम्बासी टोलबाट ५७ वर्षीय ठाकुर सिंह मोक्तानलाई  प्रहरीले पक्राउ गरेको छ ।  ३ किलो ८ सय ६० ग्राम लागूऔषध अफिम जस्तो देखिने पदार्थ सहित बारा निजगढ नगरपालिका-१२ बस्ने मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो  ।

 

त्यसैगरी खैरो हेरोइन जस्तो देखिने १० ग्राम ५  सय मिलिग्राम अवैध लागूऔषधसहित मोरङ जिल्लाबाट एक जना पक्राउ  परेका छन् । पक्राउ पर्नेमा  विराटनगर महानगरपालिका-१२ बस्ने  ४७ वर्षीय अनिश क्षेत्री रहेका छन् । उनलाई विराटनगर महानगरपालिका-१६ दरैयाबाट प्रहरीले पक्राउ गरेको हो ।


सोमबार दिउँसो  इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरेको हो ।

 

त्यस्तै, ब्राउनसुगर जस्तो देखिने २ सय ४० मिलिग्राम लागूऔषधसहित बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहबाट एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत सिम्ता गाउँपालिका-३ बस्ने १८ वर्षीय एक किशोर रहेका छन् ।  सोमबार दिउँसो इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

त्यसैगरी अफिम जस्तो देखिने पदार्थ करिब २ किलो ५ सय ग्राम लागूऔषधसहित जाजरकोट जिल्लाको भेरी नगरपालिका-१ रिम्ना बजार चोकबाट एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नलगाड नगरपालिका-३ बस्ने ५३ वर्षीय बिष्णु बहादुर घर्ती रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले बारेकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको लु-१ ज-३९२६ नम्बरको बोलेरोबाट पक्राउ गरेको हो ।

 

ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ७० मिलिग्राम र नाइट्राजेपाम ९ ट्याब्लेटसहित झापा जिल्लाको भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर घर भएका २४ वर्षीय सन्तबहादुर लामा र २२ वर्षीय मिलन परियार रहेका छन् । उनीहरुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको मे-९ प-९८४७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।


त्यसैगरी लागूऔषध डाईजेपाम १५ एम्पुल, बुप्रेनोर्फिन १५ एम्पुल, प्रोमेथाजाइन १५ एम्पुल, स्यामपेक्स ८ क्याप्सुल र नाइट्राजेपाम २० ट्याब्लेटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको लहान नगरपालिका-३ बस्ने २६ वर्षीय सुरज महतो रहेका छन् । सोमबार बेलुकी इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले सुरजको घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

 

यी सबै घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।