Ad Image

कास्कीमा यो वर्ष मल अभाव नहुने, मलको मूल्य निर्धारणको जिम्मा स्थानीय निकायलाई

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746271989.jpg

कास्की । कास्कीका किसानलाई यस वर्ष रासायनिक मल अभाव नहुने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराको पार्दीस्थित गोदाममा यस वर्ष असारसम्म पुग्ने मल मौज्दात रहेकाले विगतमा जस्तो यस वर्ष मल अभाव नहुने भएको हो ।

 

हाल पार्दीस्थित गोदाममा युरिया ५४८ मेट्रिक टन, डिएपी ११६ मेट्रिक टन र पोटास ३।५ मेट्रिक टन मौज्दात रहेकाले मल अभाव नहुने गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रबन्धक ठाकुरप्रसाद बाँस्तोलाले जानकारी दिए । कम्पनीले स्थानीय तहको सिफारिसअनुसार कृषि सहकारीमार्फत किसानलाई रासायनिक मल वितरण गर्दै आएको छ ।

 

सहकारीले वितरण गर्ने रासायनिक मलको मूल्य निर्धारण स्थानीय निकायले गर्दै आएका छन् । किसानले पोखरा महानगरपालिकाभित्र युरिया रु २१.५, डिएपी रु ५०.५ र पोटास रु ३८.५  तिर्नुपर्ने हुन्छ । पोखरा बाहिरको हकमा भने ढुवानीवापत दुईदेखि तीन रुपैयाँ बढी मूल्य लिन सकिने व्यवस्था छ ।

 

कास्की जिल्लाअन्तर्गत पोखरा महानगरपलिकाका ३३ वटा वडा र चारवटा गाउँपालिकामा कुल ८० वटा कृषि सहकारीले किसानलाई रासायनिक मल वितरण गर्दै आएका छन् । रासायनिक मल बिक्री गर्न सहकारीले स्थानीय निकायको सिफारिसमा कृषि सामग्री कम्पनीमा मल बिक्रीका लागि रु २५ हजार धरौटी राखेर अनुमति लिनुपर्ने हुन्छ । कास्कीमा मल बिक्री  गर्न एक हजारभन्दा वढी सहकारीको आवेदन फरेको बाँस्तोलाले जानकारी दिए ।

 

रासायनिक मल वितरण निर्देशिकाअनुसार स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा तीन सदस्य समिति रहन्छ । समितिको प्रमुख प्रशासकीय अधिकृत र सदस्यसचिवमा कृषि शाखा प्रमुख रहने व्यवस्था छ । समितिलाई बिक्री मूल्य निर्धारण, डिलर सिफारिस, बाँडफाँट, सुपरीवेक्षण तथा निरीक्षण र कारबाही तथा खारेजी गर्न सक्ने अधिकार र जिम्मेवारी दिइएको छ ।