अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीज दोस्रो कार्यकालका लागि निर्वाचित

काठमाडौं। अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज दोस्रो पटक निर्वाचित भएका छन् । वामपन्थी झुकाव भएका लेबर पार्टीका वर्तमान प्रधानमन्त्री एन्थोनी दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका हुन्।
देशको सार्वजनिक प्रशारक अस्ट्रेलियन ब्रडकास्टिङ कर्पोरेसन (एबीसी) ले शनिबार अन्तिम मतदान केन्द्रहरू बन्द भएको आधा घण्टापछि नै एन्थोनीको जीत घोषणा गरेको छ ।
याेसँगै पिटर डटन नेतृत्वको विपक्षी दल पराजय भएको छ । उनी वर्तमान अवस्थाप्रतिको असन्तुष्टिको लहरलाई सदुपयोग गर्दै चुनावमा उत्रिए पनि प्रचारका क्रममा भएका अनेकौं गल्तीहरू र राष्ट्रपति ट्रम्पको सन्देश तथा नीतिसँग जोडिएको छविका कारण कमजोर देखिए ।
६२ वर्षीय एन्थोनीले नवीकरणीय ऊर्जालाई अङ्गीकार गर्ने, बिग्रँदो आवास सङ्कटको सामना गर्ने र खस्कँदो स्वास्थ्य सेवा प्रणालीमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
लिबरल पार्टीका नेता तथा पूर्व प्रहरी अधिकारी डटन आप्रवासनमा कटौती गर्न, अपराधनियन्त्रण गर्न र आणविक शक्तिमाथि लामो समयदेखि लगाइएको प्रतिबन्ध हटाउन चाहन्थे ।