लागूऔषध कारोबारीलाई समात्न झापामा प्रहरीले चलायो गोली


झापा । लागूऔषध कारोबारीलाई समात्न झापामा प्रहरीले गोली चलाएको छ । सोमबार बिहान कनकाई नगरपालिका–४ तल्लो चाप्रामारीमा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले दुई राउण्ड गोली चलाएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार लागूऔषध कारोबारी आउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो। शरणामतीबाट सुरूङ्गातर्फ आउँदै गरेको बिआर ३७ टी ९१९८ नम्बरको मोटरसाइकललाई रोकेर प्रहरीले जाँच्न खोजेको थियो। तर प्रहरीलाई देख्ने बित्तिकै मोटरसाइकल र झोला फालेर भागेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको हो । तर पनि लागूऔषध कारोबारी भने पक्राउ पर्न सकेनन् ।
प्रहरीले झोलासहित २०४.०८० ग्राम बराबरको ब्राउन सुगर बरामद गरेको छ। भागेका पुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ ।