इण्डियन आइडल पवनदीपको कार दुर्घटना, पवनसहित तीन जना गम्भीर घाइते

काठमाडौं । इण्डियन आइडल पवनदीप राजनको कार दुर्घटना भएको छ । सोमबार उत्तराखण्डबाट दिल्ली जाँदै गर्दा उत्तर प्रदेशको अमरोहामा पवनदीपको कार अर्को सवारी साधनसँग ठोक्किएर दुर्घटना भएको हो ।
हाल उनको उपचार नोयडाको फोर्टिस अस्पतालमा भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । कारमा रहेका अन्य पवनदीपका दुई जना साथी पनि घाइते भएका छन् । उनीहरु तीनै जनालाई उत्तरप्रदेशमा प्रारम्भिक उपचारपछि दिल्ली लगिएको छ ।
कार अनियन्त्रित भएर सडक किनारमा रहेको अर्को सवारी साधनसँग ठोक्किएको प्रहरीले जनाएको छ । आमालाई उत्तराखण्डस्थित घरमा छाडेर दिल्ली फर्किंदै गर्दा कार दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
उत्तराखण्डको चम्पावत जिल्लाका पवनदीप राजन इण्डियन आइडल सिजन १२ को उपाधि बिजेता हुन्।