हेटौंडामा जमिन भासिएर गाडी बेपत्ता भएको क्षेत्रको अध्ययन गर्न पुगे भूगर्भविद्

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको गैरीगाउँमा जमिन भासिएर गाडी बेपत्ता भएको क्षेत्रको भूगर्भविद्ले अध्ययन गर्ने भएका छन् ।
हेटौंडा उपमहानगरपालिकामा विपद व्यवस्थापन समितिको बैठक बसेर भूगर्भविदको सहयोग लिने निर्णय भएसँगै खानी तथा भूगर्भ विभागको चार सदस्यीय टोली घटनास्थल पुगेको हो ।
भूगर्भविद्ले घटनास्थलको भू–बनोट भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्र लगायत विषयमा अध्ययन गर्नेछन् । घटनास्थलको माटोको सतह र घटनाको कारणबारे तथ्यांकीय अध्ययन गर्ने बताइएको छ । प्रोटोन म्याग्नेटो मिटरको प्रयोग गरी चुम्बकीय क्षेत्र र अन्य पदार्थको अवस्था सम्बन्धी अध्ययन गर्ने समेत बताइएको छ ।
गत शुक्रबार दिउँसो ना ४ च ४८३३ नम्बरको बोलेरो पिकअप गाडी गुड्दागुड्दै जमिनमा भासिएर बेपत्ता भएको थियो । गाडी बेपत्ता भएको पाँच दिनसम्म पनि फेला नपरेपछि भूगर्भविद्ले अध्ययन गर्ने भएका हुन् ।