एमालेको धनुषा जिल्ला अधिवेशनमा कुर्सी हानाहान


धनुषा । नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा विवाद हुँदा कुर्सी हानाहान भएको छ । अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा निर्वाचन समितिमाथि केही नेताले कुर्सी प्रहार गरेका हुन् ।
गत वैशाख २० देखि जनकपुरमा जारी अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । सोमबार राति नै मनोनयन दर्ता भएको थियो । उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको बताइएको छ ।
आज बिहान साढे ८ बजेदेखि हुने भनिएको निर्वाचन तयारी नपुग्दा बिहान १० बजेको लागि तय भएको थियो तर विवाद भएपछि मतदान सुरु हुन सकेको छैन ।
अध्यक्षमा भोला यादव र लक्ष्मी नारायण यादवले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव तथा सचिवमा दिप नारायण ठाकुर र धिरेन्द्र कुमार मण्डलको उम्मेदवारी परेको छ ।
उपसचिवमा सचिव विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव तथा उपसचिव महिलातर्फ किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङले उम्मेदवारी दिएका छन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ ।