भारतले भन्यो–पाकिस्तानमाथिको आक्रमण पहलगाममा भएको आतंकवादी हमलाको जवाफ हो


काठमाडौं । बुधबार बिहानदेखि सुरु भएको पाकिस्तानमाथिको मिसाइल आक्रमण अप्रिल २२ गते जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी हमलाको जवाफ भएको भारतले प्रतिक्रिया दिएको छ । भारतको विदेश मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी पाकिस्तानमाथिको हमलाबारे यस्तो प्रतिक्रिया दिएको हो ।
भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले सिमापारी हुने आतंकवादको जवाफमा भारतले बुधबार बिहान आक्रमण गरेको स्पष्ट पारेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
उनले कश्मिरको सामान्य अवस्थालाई खलल पार्ने उद्धेश्यले अप्रिल २२ मा आतंककारीहरूले पर्यटकहरूलाई लक्ष्यित गरी आक्रमण गरेको बताए । मिश्रीले कश्मिरमा भएको उक्त आक्रमणमा पाकिस्तानको भूमिका रहेको प्रमाण भारतसँग रहेको दाबी समेत गरेका छन् । रोयटर्सका अनुसार पाकिस्तानमाथिको आक्रमण आतंकवादीहरुको आश्रयस्थलहरूलाई लक्ष्यित गरेर गरिएको समेत मिश्रीले बताएका छन् ।
भारतीय सेनाका कर्नेल सोफया कुरेशीले पहलगाममा मारिएकाहरूको न्यायका लागि अपरेशन सिन्दुर सञ्चालन गरिएको बताएकी छिन्। कर्नेल कुरेशीले पाकिस्तानमा नौ वटा आतंकवादी अड्डाहरूलाई लक्ष्यित गरी आक्रमण गरिएको जानकारी दिइन्। त्यसमा भर्ती केन्द्रहरू, आतंकवादी लन्च प्याडहरू, तालिम शिविरहरूलाई लक्ष्यित गरिएको उनको भनाइ छ ।
बुधबार बिहान पौने २ बजेतिर भारतले पाकिस्तानको नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै आक्रमण गरेको छ । घटनामा १०० भन्दा बढी मारिएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् । यता अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले कम्तिमा ३५ जना मारिएको बताएका छन् । तर पाकिस्तानले भने दुई बालबालिकासहित ७ जना मारिएको दाबी गरेको छ ।