पोखराका वडाध्यक्षद्वारा कर्मचारी र व्यवसायीमाथि हातपात, व्यवसायीले दिए उजुरी


काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले कर्मचारी र व्यवसायीमाथि हातपात गरेको आरोप लागेको छ । मंगलबार वडाध्यक्ष पराजुलीले आफूमाथि हातपात गरेको भन्दै व्यवसायी लेखनाथ सुवेदीले प्रहरीमा उजुरी दिएका हुन् ।
फुटपाथमा सामान राखेको भनेर वडाध्यक्षले आफूमाथि हातपात गरेको सुवेदीको भनाइ छ । मंगलबार व्यवसायीहरुले वडाध्यक्ष पराजुलीमाथि कार्बाहीको माग गर्दै वडा नम्बर ४ को कार्यालय घेरेर नाराबाजी समेत गरेका थिए ।
मंगलबार नै वडाध्यक्ष पराजुलीले पोखरा महानगरका अधिकृत ईश्वरी पोखरेलमाथि समेत हातपात गरेको आरोप लागेको छ । उनले पोखरेलको कठालो समातेर प्रमुख प्रशासकीय अधिकृतकै कार्यकक्षमा कुटपिट गरेको बताइएको छ ।
घटनापछि स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष अमिर भण्डारी, स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष रेशम जिसी, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष नेत्रप्रसाद तिमिल्सिना र एकीकृत सरकारी कर्मचारी सङ्गठनका अध्यक्ष डिल्लीराम गिरीले उपमेयर मन्जुदेवी गुरुङलाई ध्यानाकर्षण पत्र लेखेर वडाध्यक्षमाथि कार्बाही गर्न माग गरेका छन् ।
२४ घण्टाभित्र कानुन बमोजिम वडाध्यक्षलाई कार्बाही नगरे बुधबारदेखि नै महानगरपालिका कार्यालय र वडा कार्यालयमा समेत कामकाज ठप्प गर्ने कर्मचारीहरुले चेतावनी दिएका छन् ।