गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै प्रदर्शन


रुपन्देही । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै व्यवसायीहरुले प्रदर्शन गरेका छन् । बुधबार बिहान चेम्बर अफ कमर्स रुपन्देहीको नेतृत्वमा विभिन्न संघसंस्थाले विमानस्थलको मुख्य गेटमा एक घण्टा धर्ना तथा विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने, अत्यावश्यक सरकारी कार्यालय स्थापना गरिनुपर्ने, विमानस्थल नचल्दा मर्कामा परेका व्यवसायीलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेका छन् ।
यसैगरी सबै एयरलाइन्सको टिकट काउन्टर विमानस्थलमै हुनुपर्ने, अनलाइन ई–भिसा र अन्तर्राष्ट्रिय डिजिटल पेमेन्ट प्रणाली लागु गर्नुपर्ने र बुद्धमार्गी देशहरूबाट सिधा उडानको व्यवस्था गर्नुपर्ने उनीहरुको भनाई छ ।
धर्ना कार्यक्रममा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित सुरु नगरे आन्तरिक उडान बन्द गराउने चेतावनी दिएका छन् । साथै उनीहरुले सम्बन्धित मन्त्रीहरूको बहिष्कारदेखि काठमाडौंमा पुगेर मन्त्रालय घेराउसम्मको कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।
वि.सं.२०७९ जेठ २ गते उद्घाटन भएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा व्यवसायीहरूले पटक–पटक आन्दोलन गर्दै आएका छन् ।