भारत–पाकिस्तान युद्धको प्रभावबारे नेपाल सरकार समयमै गम्भीर बन्नुपर्नेमा संसदहरुको जोड


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भारत र पाकिस्तानबीच विकसित पछिल्लो तनाव र नेपाललाई पार्न सक्ने प्रभावबारे सचेत रहनुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारण भारत र पाकिस्तानबीच युद्ध सुरु भएको भन्दै यसले नेपाललाई पार्ने अल्पकालीन र दीर्घकालीन प्रभावहरूका बारेमा नेपाल सरकारले समयमै सचेत भएर छलफल अघि बढाउन अनुरोध गरे ।
उनले दक्षिणपूर्वी एसियाली मुलुकमा द्वन्द्व चर्किएको र यतिबेला राष्ट्रिय राजनीतिक दलको एकता जरुरी भएको समेत औँल्याए । संविधान संशोधन, सङ्घीयताको सवलीकरण, संस्कृतिको संरक्षण र प्रवर्द्धनलगायत विषयमा सबै दलहरूबीच न्यूनतम सहमति गरी आमजनतालाई आशा जगाउनुपर्नेमा उनले जोड दिए ।
त्यसैगरी प्रतनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लले नेपाल असंलग्न राष्ट्रको रुपमा रहँदै आएको बताएका छन् । तर, आतंकवादको सम्बन्धमा नेपालले आफ्नो प्रष्टता हुन आवश्यक रहेको उनको भनाई छ । उनले पहलगाममा भएको आतंकवादी आक्रमणको निन्दा गरे ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका एनपी साउदले पनि यो विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए । उनले हालै पाकिस्तानी सैनिकले नेपाल भ्रमण गरेको विषयमा समेत उचित नरहेको बताएका छन् । छिमेकमा भएको घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलले नेपाल भ्रमण भएको उनले बताएका हुन् । उनले भने, ‘भ्रमण पूर्वनिर्धारित नै भए पनि वर्तमान स्थितिबारे संवेदनशील भएर कुटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने आवश्यकता थियो ।’
बुधबार बिहान पौने २ बजेतिर भारतले पाकिस्तानको नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै आक्रमण गरेको छ । घटनामा १०० भन्दा बढी मारिएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् । यता अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले कम्तिमा ३५ जना मारिएको बताएका छन् । तर पाकिस्तानले भने दुई बालबालिकासहित ७ जना मारिएको दाबी गरेको छ ।