आईपीओमा कमिसन प्रकरण: अख्तियारले नियन्त्रणमा लियो ८९ कम्पनीको कागजपत्र


काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । बुधबार अख्तियारको टोलीले छापा मारेर प्राथमिक सेयर (आईपीओ) निष्कासन सम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ । आईपीओ निष्काशनका लागि पाइपलाइनमा रहेका सबै कम्पनीहरुको कागजात अख्तियारले बोर्डबाट आफ्नो नियन्त्रणमा लिएको बोर्डका सहायक प्रवक्ता टोलकान्त न्यौपानेले बताए ।
उनका अनुसार पाइपलाइनमा रहेका जलविद्युत्का ३३ सहित ८९ कम्पनीको कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लगेको छ । ‘जलविद्युत् कम्पनीका आईपीओ स्वीकृतिका लागि धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले प्रतिशत नै तोकेर कमिसन माग गरेको समाचार सार्वजनिक भएको थियो ।
अध्यक्ष श्रेष्ठले हरेक कम्पनीको आईपीओ निष्कासनमा सर्वसाधारणलाई सेयर जारी हुने रकमको ५ प्रतिशतका दरले कमिसन माग गर्ने गरेको आरोप लागेको छ । ४३ जलविद्युत् कम्पनीको आईपीओ स्वीकृति क्रममा रहेकामा त्यसमध्ये ४२ कम्पनीसँग बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पठाएका भनिएका व्यक्तिहरूले रकम माग गरेको विद्युत् कम्पनीहरूले बताएका छन् ।
धेरैजसो प्रवर्द्धकहरूसँग भेटेरै र कतिपयसँग फोन, एसएमएस र इमेल मार्फत पनि रकम माग गरेको जलविद्युत् प्रवर्द्धकहरू बताउँछन् । आईपीओ स्वीकृतिका लागि कमिसन मागिएको विषय मिडिया मार्फत सार्वजनिक भएपछि त्यसबारे संसद्मा पनि कुरा उठेको थियो ।