Ad Image

सीमा सुरक्षा : सशस्त्रका २४५ वटै बिओपी ‘हाइ अलर्ट’ मा, १८ सय ४४ चेकप्वाइन्ट स्थापना

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746711824.jpg

काठमाडौं । भारत–पाकिस्तानबीच द्वन्द्व बढेपछि नेपालले सीमा सुरक्षामा कडाइ गरेको छ । देशभरका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलले आफ्नो तैनाथी र निगरानी बढाएको हो । सरकारको निर्देशनअनुसार ताप्लेजुङदेखि दार्चुलाको छाङग्रु नाकासम्म रहेका २४५ वटै बोर्ड आउट पोष्ट (बिओपी) लाई सशस्त्रले हाईअलर्टमा राखेको छ ।

 

सशस्त्रले ४८ घण्टाभित्र विभिन्न सीमा इलाकामा ३१२ पट्रोल र १८ सय ४४ स्थानमा चेकप्वाईन्ट राखेको जनाएको छ । मंगलबार बिहानदेखि शुरु भएको यस्तो सुरक्षा तैनाथी बिहिबार बिहानसम्म ४८ घण्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २२८ वटा एकल पट्रोल गरिएको छ ।

 

भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँग संयुक्त पट्रोल वैशाख २३ गते २० वटा, २४ गते १६ वटा र २५ गते ४८ वटा गरिएको छ । त्यस्तै एकल पट्रोल वैशाख २३ गते ८९ वटा, २४ गते ६४ वटा र २५ गते ७५ वटा गरिएको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

 

सोही अवधिमा सीमा इलाकाका १८ सय ४४ ठाउँमा चेकप्वाईन्ट राखिएको छ । वैशाख २३ गते ५ सय ६४, बैशाख २४ गते ६ सय ४० र वैशाख २५ गते ६ सय ४० ठाउँमा गरी १ हजार ८ सय ४४ ठाउँमा चेकप्वाईन्ट राखिएको थापाले जनाए ।

 

ती क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुुर, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत कार्यालयहरुबाट १० हजार भन्दा बढि सशस्त्र प्रहरी बल नेपालको जनशक्ति परिचालन गरिएको छ ।

 

सीमा क्षेत्रमा अवैध गतिविधिलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणहरुसँग समन्वय गरी सूचना आदान–प्रदान गरी सीमामा आवतजावत गर्नेहरुलाई निगरानी गर्ने कार्य समेत कडाईकासाथ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

 

नेपालको सीमा सुरक्षा कमजोर रहेको भन्दै भारतले दवाव दिएपछि केही दिनदेखि कडाइ गरिएको स्रोतले बतायो । कश्मीरको पहलगाममा एक नेपालीसहित २६ पर्यटकको ज्यान जाने गरी भएको हमलामा संलग्न व्यक्तिहरुको यात्रा विवरण अध्ययनका क्रममा नेपाली भूमि प्रयोग भएको पाइएको दावी भारतीय पक्षले गरेको छ ।बंगलादेशबाट नेपालको बाटो हुँदै आक्रमणकारी कश्मीर पुगेको सूचना आएको भन्दै भारतले नेपालमाथि दवाव बढाएको स्रोतले बतायो ।  
 

सोही बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएका थिए । त्यसअघि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक पनि बसेको थियो ।