विधिको शासनमार्फत मात्रै समुन्नत समाजको निर्माण सम्भव छ : प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले कानुन दिवस २०८२ को अवसरमा न्यायपालिकाको स्वतन्त्रता र व्यावसायिकता लोकतन्त्रको मेरुदण्ड भएको बताएका छन् ।
उच्च अदालत पोखराद्वारा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले विधिको शासनमार्फत् मात्रै समावेशी, न्यायपूर्ण र समुन्नत समाजको निर्माण सम्भव हुने उल्लेख गरे ।
“कानुन केवल नियमको संकलन होइन, यो सामाजिक न्याय, मानव अधिकार र उत्तरदायी शासनको मेरुदण्ड हो,” उनले भने, “न्यायिक प्रणालीले नागरिक र राज्यबीचको सम्बन्धलाई अझ न्यायसंगत बनाउने माध्यम हो।”
उनका अनुसार गण्डकी प्रदेशमा संविधानको भावना अनुरूप विकास गरिएका कानुनी संरचनाहरूले नागरिकलाई न्याय सेवामा नजिक पुर्याउने कार्य गरिरहेका छन् ।
प्रदेश प्रमुख भट्टले कानुनी चेतना, मानव अधिकारको सम्मान र निष्पक्ष सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याए ।
नेपालमा सन् १९५१ (वि.सं. २००८) मा बनेको प्रधान न्यायालय ऐन लागू भएको दिन वैशाख २६ लाई सम्झनाका रूपमा हरेक वर्ष कानुन दिवसको रूपमा मनाइन्छ ।