नाबालिका बलात्कारका अभियुक्त बिर्तामोडका पूर्वमेयरलाई धरौटीमा छोड्न आदेश


झापा । नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालत विराटनगरले धरौटीमा छोड्ने आदेश दिएको छ। उच्च अदालत विराटनगर, इलाम इजलासका न्यायाधीशद्वय किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको इजलासले बिहीबार शिवाकोटीलाई २० लाख रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो।
शिवाकोटीमाथि आफ्नै घरमा राखेकी बालिकालाई पटक पटक बलात्कार गरेको आरोप छ । यसअघि २०८१ पुस २२ मा जिल्ला अदालत झापाले शिवाकोटीले आफ्नै घरमा घरेलु कामदारका रूपमा रहेकी १५ वर्षीया नाबालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि थुुनामा पठाउन आदेश दिएको थियो । तर शिवाकोटी पाँच महिनासम्म बिर्तामोडको बीएन्डसी अस्पतालमा बसेका थिए । ‘बेरीतको आदेश बदर गरिपाऊँ’ भन्दै शिवाकोटीले उच्च अदालतमा निवेदन दिएका थिए । बिहीबार उच्च अदालतले उनलाई धरौटीमा छोड्ने आदेश दिएको हो ।
भारतको आसाम घर भएकी पीडित बालिका बुबाआमाको निधनपछि बिर्तामोडमा हजुरआमासँग बस्दै आएकी थिइन् । पछि पूर्वमेयर शिवाकोटीले बालिकालाई संरक्षण गरेर पढाइ दिने भन्दै आफ्नो घर लगेका थिए । तर शिवाकोटीले घरमा कोही नभएको बेला आफूलाई पटक पटक बलात्कार गरेको बालिकाले बयान दिएकी छिन् ।
बालिका विद्यालय पोसाकमै भारततिर गइरहेको बेला ‘आफन्त नेपाल’ ले उद्दार गरेको थियो । आफन्त नेपालले बालिकालाई उनको परिवारको जिम्मा लगाउने क्रममा बालिकाले शिवाकोटीले आफूलाई बलात्कार गर्ने गरेको बताएकी थिइन् ।