Ad Image

बलिउडमा ‘अप्रेसन सिन्दूर’ फिल्म निर्माण गर्न होडबाजी, दुई दिनमै ५० बढी दर्ता

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746788145.jpg

काठमाडौं । भारतले पाकिस्तानमा हालै गरेको सैन्य कारबाहीपछि बलिउडमा उक्त घटनामा आधारित फिल्म निर्माणको लागि होडबाजी सुरु भएको छ । ‘अप्रेसन सिन्दूर’ नाम दिइएको उक्त कारबाहीलाई लिएर अभिनेता जोन अब्राहम, सुनिल शेट्टी, निर्देशक आदित्य धरलगायतले फिल्म शीर्षक दर्ता गराइसकेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

 

भारतीय मिडियाका अनुसार यो विषयमा फिल्म बनाउनका लागि दुई दिनमै ५० भन्दा बढी शीर्षक दर्ताका आवेदन परेका छन् । आवेदन गरिएका शीर्षकमा ‘अप्रेसन सिन्दूर’, ‘मिसन सिन्दूर’, ‘सिन्दूर द रिभेन्ज’ लगायत छन् ।

 

जम्मु–कश्मीरको पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी आक्रमणको जवाफ स्वरूप भारतीय सेनाले पाकिस्तान र त्यसले कब्जा जमाएको कश्मीरमा रहेका ९ आतङ्ककारी क्याम्पमा गत मंगलबार मिसाइल हमला गरेको थियो । जैश–ए–मोहम्मदको मुख्य केन्द्र बहावलपुर र लस्कर–ए–तैयबाको अड्डा मुरीदके पनि कारबाहीको निशानामा परेको भारतीय पक्षले दाबी गरेको छ ।

 

हाल पनि ‘अप्रेसन सिन्दूर’ जारी छ। यसबीचमा भारतीय मोसन पिक्चर प्रोड्युसर्स एसोसिएसन ‘आईएमएमपीए’ भारतीय फिल्म तथा टेलिभिजन प्रोड्युसर्स काउन्सिल ‘आईएफटिपीसी’ र वेस्टर्न इन्डिया फिल्म प्रोड्युसर्स एसोसिएसन ‘डब्लूआईएफपीए’लाई यस्ता शीर्षक दर्ताका लागि उल्लेख्य सङ्ख्यामा आवेदन पुगेका छन्।

 

‘आईएमएमपीए’का सचिव अनिल नागरथका अनुसार अधिकांशले ‘अप्रेसन सिन्दूर’ र ‘मिसन सिन्दूर’ शीर्षक रोजेका छन् । उनी भन्छन्, “हामीले हालसम्म ३० भन्दा बढी आवेदन पाइसकेका छौँ, यो सङ्ख्या ५० देखि ६० सम्म पुग्न सक्छ।”

 

यसअघि कारगिल युद्ध, उरी हमलाजस्ता घटनामा पनि यस्तै फिल्म शीर्षक दर्ता गरिएका थिए । यस पटक पनि ‘हिन्दुस्तानको सिन्दूर’, ‘मिसन अप्रेसन सिन्दूर’, ‘सिन्दूरको बदला’, ‘पहलगाम द टेरर अट्याक’, ‘पहलगाम अट्याक’ लगायतका नाम दर्ताका लागि आवेदन परेका जनाइएको छ ।