रुपान्तरणसहित समाजवादी क्रान्तिको तयारी गर्दा घेराबन्दी हुन्छ: अध्यक्ष प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुपान्तरणसहित समाजवादी क्रान्तिको तयारी गर्न खोज्दा आफूहरुविरुद्ध घेराबन्दी हुने, षड्यन्त्र गर्ने गरेको बताएका छन् । अध्यक्ष प्रचण्डले २५औं निर्मल लामा स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी, आदर्श र निष्ठातिर लैजान खोज्दा धेरै चुनौतीहरु देखिएको बताउँदै ती चुनौतीका विरुद्ध लड्न संकल्पसहित अगाडि बढ्ने बताए ।
उनले भने, ‘अहिले कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी, आदर्श र निष्ठातिर नै अगाडि लैजाने धेरै चुनौतीहरु छन् । ती चुनौतीविरुद्ध लड्ने संकल्पसहित फेरि हाम्रो विचारलाई, मुद्दाहरूलाई, वर्गलाई समुदायलाई केन्द्रित गरेर हामी एकचोटि यथास्थिति भत्काउने र रुपान्तरणसहित समाजवादी क्रान्तिको तयारीमा लैजान खोजेका छौं । तर, यसो गर्न खोजेवापत प्रतिक्रियावादी, संशोधनवादी र अवसरवादीहरुले घेराबन्दी गर्ने, भ्रम छर्ने, अनेक षडयन्त्रहरु गर्ने गरेका छन् ।’