बाजुरामा विस्फोटक पदार्थ पड्किँदा एक महिलाको मृत्यु


धनगढी । बाजुराको बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा अज्ञात विस्फोटक पदार्थ पड्किँदा एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार बिहान करिब साढे ७ बजे घाँस काट्न सामुदायिक वन गएकी ५० वर्षीया काली जैशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।
जैशी सुजारी पाताल सामुदायिक वनमा घाँस काटिरहेको बेला अचानक विस्फोट भएको थियो । विस्फोटमा गम्भीर घाइते भएकी उनलाई तत्कालै उपचारका लागि कोल्टी अस्पताल लगिएको थियो तर अस्पतालमा पुग्नेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार विस्फोट कसरी भयो भन्ने विषय खुल्न सकेको छैन । घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको छ । स्थानीयवासीले सामुदायिक वनमा अझै पनि यस्ता अज्ञात र खतरनाक सामग्री हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।