भारत–पाकिस्तान तनावबारे सरकारलाई विश्वप्रकाश शर्माका ५ बुँदे सुझाव


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भारत र पाकिस्तानबीच चुलिँदो तनावले नेपालमा पार्न सक्ने असरप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले शुक्रबार ५ बुँदे सुझाव सार्वजनिक गर्दै यस्तो संवेदनशील परिस्थितिमा नेपाल सरकार, राजनीतिक दलहरू, मिडिया र सम्पूर्ण राष्ट्र एकजुट भएर उभिनु पर्ने बताएका छन् ।
१.विगतका क्षति स्मरण गर्दै गम्भीर विमर्शको माग
शर्माले विगतमा विभिन्न अन्तर्राष्ट्रिय द्वन्द्वमा नेपाली नागरिकले व्यहोरेका क्षतिहरू स्मरण गराउँदै इराक, इजरायल, र रुस–युक्रेन युद्धको उदाहरण दिएका छन् । यस्तो पृष्ठभूमिमा अहिलेको परिस्थिति गम्भीर राष्ट्रिय विमर्श र एकता माग गर्ने उनी बताउँछन् ।
२.जोखिम क्षेत्रका नेपालीको सुरक्षामा प्राथमिकता
भारत र पाकिस्तानमा अध्ययन, श्रम र व्यवसायमा संलग्न हजारौँ नेपालीको सुरक्षालाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ । उनले जोखिम क्षेत्रमा सरकारको ‘सूचना र सम्पर्क नेटवर्क’ तथा काठमाडौं, दिल्ली र इस्लामाबादमा ‘रेस्क्यु डेस्क’ स्थापना गर्नुपर्ने बताएका छन् ।
३.साझा राष्ट्रिय धारणा निर्माण
सरकारले आफ्नो धारणा सार्वजनिक गरिसकेको भए पनि अब सर्वदलीय छलफलमार्फत साझा राष्ट्रिय अभिमत बनाउनु अपरिहार्य रहेको शर्माको भनाइ छ । उनका अनुसार छिमेकी देशको युद्धमा नेपाली राजनीति विभाजित हुनु हुँदैन ।
४.सार्क अध्यक्षका रूपमा नेपालको भूमिका सक्रिय बनोस्
नेपाल सार्कको अध्यक्ष भएकाले दक्षिण एसियाली क्षेत्रको शान्तिका लागि नेपालले स्पष्ट र सक्रिय भूमिका खेल्नुपर्ने उनले उल्लेख गरेका छन् । युद्धको केवल दर्शक बन्ने नेपाल सरकारलाई छुट नभएको उनको भनाइ छ ।
५.सम्भावित असरको बहु आयामिक तयारी
युद्ध लम्बिएमा आयात, मूल्यवृद्धि, हवाई यातायात, पर्यटन र सम्पूर्ण अर्थतन्त्र प्रभावित हुन सक्ने भन्दै उनले संघीय, प्रदेश र स्थानीय तहले पूर्व तयारी गर्नुपर्ने सुझाव दिएका छन् ।