मोटरसाइकल चोरेर भाग्दै गरेका युवक दुर्घटनामा परी गम्भीर घाइते


काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित नारायणगोपाल चोकमा गए राति एक मोटरसाइकल र टिप्पर एकआपसमा ठोक्किँदा एक युवक गम्भीर घाइते भएका छन् ।
पौने १ बजे नयाँ बसपार्कबाट नारायण गोपालतर्फ आइरहेको बा.४ ख १२०३ नम्बरको टिप्परले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट बागमती प्रदेश–०२–०४१ प ३९३८ नम्बरको मोटरसाइकल चलाइरहेका दर्तामान तामाङ घाइते भएका हुन् ।
प्रहरीका अनुसार धादिङको गजुरी घर भएका २० वर्षीय तामाङले सो मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–९ बज्रयोगिनीबाट चोरेर भागेका थिए । ठक्करपछि उनी गम्भीर घाइते भएका छन् र हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार दुर्घटनापछि टिप्पर चालक फरार छन् र हाल उनको खोजी भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।