यथास्थिति भत्काएर समाजवादी क्रान्तिमा अघि बढ्दै छौँ : प्रचण्ड


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा विद्यमान यथास्थितिलाई तोड्दै समाजवादी क्रान्तिको दिशामा अघि बढिरहेको बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित निर्मल लामा स्मृति दिवसका अवसरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई फेरि क्रान्तिकारी आदर्श र निष्ठातिर फर्काउने सङ्कल्पसहित आफूहरू अगाडि बढेको स्पष्ट पारे ।
“हामी विचार, वर्ग र समुदायको पक्षमा दृढतापूर्वक उभिँदै, फेरि एक पटक यथास्थितिलाई भत्काउने र समाजवादी रूपान्तरणतर्फको यात्रामा लागेका छौँ,” प्रचण्डले भने ।
उनले प्रतिक्रियावादी र अवसरवादी शक्तिहरू आफूहरूविरुद्ध घेराबन्दी गर्न लागिपरेको आरोप लगाउँदै, भ्रम फैलाउने तत्त्वहरूको भण्डाफोर गर्न कार्यकर्तालाई आग्रह गरे ।
साथै, नेताहरूलाई देवत्वकरण गर्ने प्रवृत्ति अस्वीकार्य भएको बताउँदै प्रचण्डले नेतृत्वलाई पनि आलोचनाको दायरामा ल्याउनुपर्ने धारणा राखे ।