सरकार आफ्नै कुकर्मले ढल्छ, हामीलाई हतार छैन : प्रचण्ड


पाँचथर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार आफ्नै असफलता र गल्तीको कारण ढल्ने दाबी गरेका छन् ।
पाँचथरको फिदिममा आयोजित जनसभामा बोल्दै उनले सरकार गिराउन आफ्नो पार्टी सक्रिय नहुने स्पष्ट पारे । “यो सरकार आफ्नै कुकर्मको बोझले ढल्नेछ,” प्रचण्डले भने, “हामीलाई सरकार ढाल्न कुनै हतार छैन, अहिले हामी जनतासँग छौँ।”
प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्र कुनै पनि पार्टीको समर्थनमा निर्भर नहुने बताएका छन् । उनले पार्टीले स्वतन्त्र रूपमा, २०६४ सालको निर्वाचनझैँ, आफ्नो बलमा प्रतिस्पर्धा गर्ने घोषणा गरे । “अब यी बुर्जुवाहरूको वैशाखी टेकेर चुनावमा जाइँदैन,” प्रचण्डले भने, “हामी आफ्नै ताकतमा चुनावमा जानेछौँ।”
प्रचण्डले आफ्नो पार्टी र व्यक्तित्वविरुद्ध विभिन्न भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै कार्यकर्तालाई त्यस्ता भ्रममा नपर्न आग्रह गरे । “कतिपय बेला भ्रम छर्न खोजिन्छ, त्यो भ्रममा नपर्नुहोला,” उनले भने ।
प्रचण्डले वर्तमान दुई तिहाइ बहुमतको सरकारलाई ‘भिजेको बिरालो’ जस्तै कमजोर र लाचार सरकारको संज्ञा दिए । “दुई तिहाइको सरकारको हालत भिजेको बिरालो जस्तो छ, राम्रो केही गर्न सकेको छैन, नराम्रो मात्रै भइरहेको छ,” उनले भने ।