मंगलसैन नगरपालिकामा कर्मचारीद्वारा तालाबन्दी


अछाम । अछामको मंगलसैन नगरपालिकाका कर्मचारीहरूले स्थानीय सेवा ऐनको माग गर्दै आइतबारदेखि अनिश्चितकालीन तालाबन्दी सुरु गरेका छन् ।
नगरपालिकाका सम्पूर्ण कर्मचारीहरू कार्यालयमा तालाबन्दी गर्दै धर्नामा बसेका हुन् । प्रदेशस्तरीय स्थानीय सेवा ऐन जारी गर्न दबाब दिन गठन भएको स्थानीय तह कर्मचारी प्रदेश सङ्घर्ष समितिको आह्वानमा आन्दोलन सुरु गरिएको सूचना अधिकारी विष्णु जोशीले जानकारी दिए ।
संघीयता कार्यान्वयन भएको एक दशक बितिसक्दा पनि प्रदेश सरकारले स्थानीय सेवा ऐन नल्याएकोप्रति असन्तुष्टि जनाउँदै कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।
यसअघि शनिबार सङ्घर्ष समितिले सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा तीन बुँदे निर्देशन पठाउँदै सङ्घर्षका कार्यक्रम सुरु गर्न आह्वान गरेको थियो ।