कोरियाका लागि एनओसी अनिश्चितकालीन स्थगित


काठमाडौं । कोरियामा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरू समस्यामा परेको गुनासो बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नो अब्जेक्सन लेटर (एनओसी) जारी गर्न अनिश्चितकालका लागि स्थगित गरेको छ ।
मन्त्रालयका सूचना अधिकारी नीलकण्ठ ढकालका अनुसार हाललाई एनओसी जारी नगर्ने निर्णय लिइएको हो । दूतावासमार्फत आएका रिपोर्टले विद्यार्थीहरू अध्ययनभन्दा काममा केन्द्रित हुने, झुटा आश्वासनमा फस्ने र मानसिक तनावमा पर्ने समस्या देखाएपछि यस्तो निर्णय गरिएको हो ।
विशेषगरी डी–२ र डी–४ भिसामा कोरिया गएका विद्यार्थीहरू कन्सल्टेन्सीको भ्रममा परी शिक्षा भन्दा काममा अल्झिने, ठगीमा पर्ने र कालोसूचीमा रहेका विश्वविद्यालयमा भर्ना हुने जस्ता समस्यामा परिरहेका छन् ।
दूतावासले केही कन्सल्टेन्सीले विद्यार्थीहरूबाट अत्यधिक शुल्क लिने, झुटा सपना देखाउने, अवैधानिक रूपमा काम गर्न सकिने आश्वासन दिने गरेको उल्लेख गरेको छ । विद्यार्थीको सुरक्षालाई ध्यान दिँदै मन्त्रालयले अर्को व्यवस्था नहुञ्जेल एनओसी जारी प्रक्रिया रोकेको जनाएको छ ।