सामाजिक सञ्जालबाट चिनेको युवती पछ्याउँदै होटल पुग्दा २ युवक लुटिए, ८ जना पक्राउ


काठमाडौं । काठमाडौंको कलंकीमा ‘केटी साथी’लाई भेट्न जाँदा दुई जना युवक लुटिएका छन् । कंलकीस्थित होटल मेन्समा उनीहरूमाथि महिला प्रयोग गरेर ‘हनीट्रयाप’मा पारेर लुटपाट गरेका हुन् ।
होटलको कोठा नं ४०२ मा लगेर दुई युवकलाई धाकधम्की दिई ३ लाख ६३ हजार रुपैयाँ लुटेको प्रहरीको दाबी छ। लुटपाटमा संलग्न रहेको आरोपमा दुई युवतीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सामाजिक सञ्जालमा चिनजान भएकी युवतीसँग साथीसहित होटलमा बस्न पुगेका उनीहरुलाई कोठामा पुग्नासाथ ६ जना पुरुषले आफूहरु प्रहरी भएको दाबी गर्दै डर त्रासमा पारेर रकम माग गरेको पीडितको दाबी छ।
ती व्यक्तिहरुले विभिन्न मुद्दामा फसाइदिने, बोले कराएमा मारिदिने धम्की दिँदै रकम माग गरेका थिए। ती पीडितले आफूसँग भएको नगद र बैंकखाताबाट समेत गरी ३ लाख ६३ हजार रुपैयाँ बुझाएर उम्किएको प्रहरीको दाबी छ।
पक्राउ पर्नेमा नवलपरासीको गैँडाकोटका २४ वर्षका अनिष केसी, चितवनको भरतपुरका २५ वर्षका अतित क्षेत्री, सोही ठाउँका २४ वर्षका सन्दिप बिक, नवलपुरको देवचुलीका २३ वर्षीय सन्दिप परियार, नवलपुरको गैँडाकोटका २५ वर्षका दिप्सन भन्ने विवेक मल्ल ठकुरी र चितवनको भरतपुरका २२ वर्षका बादल तामाङ रहेका छन्। उनीहरुले होटलमा लगेर धाकधम्की दिई दुई जनासँग रकम लगेको खुलेको छ।
यस्तै ती दुई जना पीडितलाई सँगै बस्ने भन्दै कलंकीको होटलमा पुर्याउने लमजुङको उदिपुरकी १९ वर्षकी सक्रिया खनिया र सुनसरीको धरानकी २४ वर्षकी कबिता राईलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको साथबाट ५२ हजार रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ। विभिन्न कम्पनीका ९ थान मोवाइल र एउटा मोटरसाइकल पनि प्रहरीको नियन्त्रणमा छ।