हुलाक सेवालाई आधुनिक बनाउन नयाँ ऐन ल्याउँछौँ : मन्त्री गुरुङ

सुर्खेत । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानै ढर्राबाट चलिरहेको हुलाक सेवालाई आधुनिक बनाउन नयाँ ऐन ल्याउने प्रतिबद्धता जनाएका छन् ।
हुलाक निर्देशनालय सुर्खेतको नवनिर्मित भवन उद्घाटन गर्दै उनले संघीयताको मर्मअनुसार सेवा सुधारका लागि कानुनी संरचना परिवर्तन आवश्यक रहेको बताए ।
उनले हालको हुलाक सेवा राजा महेन्द्र पालाको कानुनबाट सञ्चालित रहेको भन्दै त्यसले अपेक्षित सेवा दिन नसक्ने टिप्पणी गरे ।
मन्त्री गुरुङले भ्रामक सूचना नियन्त्रण गर्न सञ्चारसम्बन्धी विधेयक चाँडै कानूनका रूपमा ल्याइने जानकारी समेत दिए ।
अध्ययन बिना विकास निर्माण हुँदै आएको भन्दै उनले राज्यको खर्बौं रुपैयाँ अनुत्पादक रूपमा खर्च भएको र अब आवश्यकता र औचित्यमाथि आधारित विकास हुनुपर्नेमा जोड दिए ।