Ad Image

विश्वशान्तिका लागि बुद्धको शिक्षा अनिवार्य : प्रधानमन्त्री ओली

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747046709.jpg

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा बढ्दो द्वन्द्व र अशान्तिको समाधान बुद्धका शिक्षा र उपदेशले मात्र सम्भव हुने बताएका छन् ।

 

बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८२ को अवसरमा लुम्बिनीमा आयोजित मूल समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले बुद्धको शान्तिको सन्देश आजको विश्वका लागि झनै सान्दर्भिक भएको उल्लेख गरे ।

 

उनले हालैको भारत–पाकिस्तानबीचको तनावबारे बोल्दै नेपालसहित अन्तर्राष्ट्रिय समुदायको संयमता आग्रहपछि सम्भावित युद्ध टरेकोमा सन्तोष व्यक्त गरे । “हामीले दुवै देशलाई संयम अपनाउन आग्रह गर्‍यौँ, उनीहरूले पनि युद्धमा नजाने प्रतिबद्धता जनाए,” प्रधानमन्त्री ओलीले भने ।

 

प्रधानमन्त्री ओलीका अनुसार बुद्धको शिक्षा केवल व्यक्तिगत शान्तिमा सीमित छैन, पारिवारिक, सामाजिक र वैश्विक सन्दर्भमा पनि उत्तिकै महत्त्वपूर्ण छ । उनले वर्तमान विश्वमा भइरहेको हतियारको होडलाई मानव अस्तित्वका लागि खतरनाक भन्दै त्यस्ता प्रवृत्तिबाट उन्मुक्तिका लागि शान्ति, मैत्रीभाव र करुणाको मार्ग अवलम्बन गर्नुपर्ने धारणा राखे ।

 

लुम्बिनी गुरुयोजना निर्माणमा योगदान दिने जापानी विज्ञ प्रोफेसर केञ्जो टाङ्गेप्रति आभार व्यक्त गर्दै उनले योजना छिट्टै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री ओलीले बौद्ध विश्वविद्यालयमार्फत बुद्धका शिक्षामा अनुसन्धान र अध्ययनलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिए ।

 

भिक्षु आनन्दले बुद्धका शिक्षाको सङ्ग्रह गरी त्रिपिटक तयार गरेको र त्यो हाल भारतको पटना सङ्ग्रहालयमा सुरक्षित रहेको जानकारी दिँदै उनले बौद्ध शिष्य मण्डलीले बुद्धका मूल्य प्रचारमा महत्त्वपूर्ण भूमिका खेलेको बताए ।