बझाङमा नेपाल टेलिकमको इन्टरनेट सेवा सुस्त, उपभोक्ताको गुनासो

बझाङ । बझाङको सदरमुकाम चैनपुरमा नेपाल टेलिकमको इन्टरनेट सेवा सुस्त गतिमा सञ्चालन भइरहेको उपभोक्ताहरूले गुनासो गरेका छन् । टेलिकमले फाइबर र 4G सेवा दिए पनि दुवैको गति कमजोर रहेको उनीहरूको भनाइ छ ।
चैनपुरमा टेलिकमले Band 3 (1800 MHz) मा 10 MHz ब्यान्डविथको 4G सेवा दिँदै आएको छ, जसले अधिकतम ७५ Mbps डाउनलोड गति दिन सक्छ। तर, हजारौँ प्रयोगकर्ताको एकै चोटि प्रयोगले नेटवर्क लोड भई व्यवहारमा गति घटेको छ ।
फाइबर सेवामा पनि गति कम रहेको छ । ब्याकहौल क्षमता कमजोर, संरचना पुरानो, र प्रयोगकर्ता धेरै भएकाले फाइबर इन्टरनेट सुस्त भएको हो । व्यवसायी भूपेन्द्र खड्काले फाइबर नेटवर्कमा सुधार आवश्यक रहेको बताए। टेलिकम बझाङ प्रमुख बमबहादुर सिंहले लोड कम गर्न 5G वा वा नयाँ टावर आवश्यक रहेको जनाए ।
यदि सेवा सुधार नभए उपभोक्ता निजी प्रदायकतर्फ आकर्षित हुने चेतावनी सेवाग्राही सिजन थापाले दिएका छन् ।
बझाङका ग्रामीण भेगमा अझ बढी समस्या छ । २५ वटा टावर सक्रिय भए पनि थुप्रै गाउँ अझै सञ्चार सेवाबाट वञ्चित छन् । भौगोलिक कठिनाइ, सोलारमा आधारित टावर, र कमजोर ब्यान्डविथका कारण समस्या भएको छ ।