बेसीशहरमा नीति तथा बजेट तर्जुमा सम्बन्धी काम सुरु, आवश्यक सुझाव दिन नगरबासीलाई आग्रह

काठमाडौं । लमजुङ जिल्लाको बेसीशहर नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी काम सुरु भएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै नीति, बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त विषयका सम्बन्धमा सुझाव उपलब्ध गराउन नगरबासीलाई आग्रह गरेको हो ।
नगरपालिकाले जेठ २५ गतेभित्र आवश्यक सुझाव उपलब्ध गराउन नगरबासी, संघसंस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारीलगायतलाई आग्रह गरेको छ । सुझावहरु पालिकाको वेभ साइटमा रहेको सुझाव नामक ट्याब, पालिकाको इमेल अर्थात कागजमा लेखेर सिधै पालिकामा पुर्याउन सकिने छ ।
नगरपालिकाले प्राप्त सुझावहरुलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिने जानकारी गराएको छ ।
