Ad Image

टेबल टेनिस खेलाडीलाई प्रधानमन्त्री ओलीले दिए बधाई

User Image Mayorsap | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/a.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा उनले भविष्यका आशालाग्दा युवा खेलाडीलाई बधाई दिँदै उच्च मनोबलका साथ मेहनत गरेर विश्व प्रतिस्पर्धामा विजयी हुन शुभकामना व्यक्त गरे ।

अखिल नेपाल टेबल टेनिस सङ्घद्वारा गत २४ देखि २७ अप्रिलसम्म काठमाडौँमा आयोजित प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कांस्यसहित नेपालले १२ पदक जितेको थियो । प्रतियोगिताको यु–१९ ब्वाइज टिम इभेन्टमा नेपालका प्रवेश बस्नेत, गनञ्जय दाहाल, हिमाल विष्ट र रुविन महर्जनको टोलीले स्वर्ण पदक प्राप्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले विजेता र सहभागीलाई टेबल टेनिस खेल्न लगाइ अवलोकनका साथै उनीहरूसँग आफूले पनि केहीबेर खेलेर प्रोत्साहन गरेका थिए । साथै प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट उत्कृष्ट र सहभागी खेलाडीहरूलाई आकस्मिकरुपमा नगद पुरस्कार प्रदान गरेका थिए ।

सङ्घका उपाध्यक्ष पूर्ण शङ्कर श्रेष्ठले यसरी प्रधानमन्त्री स्तरबाट टेबल टेनिसलाई पहिलो पटक स्नेह प्राप्त भएकाले यस खेलले भविष्यमा देशलाई राम्रो नतिजा दिने विश्वास व्यक्त गरे । 

सङ्घका सचिव एवं दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिताका टोली व्यवस्थापक राजेन्द्र बहादुर दुलालले अन्तर्राष्ट्रिय स्तरमा टेबल टेनिसमा भाग लिँदा युवा खेलाडीका अभिभावकले आफै शुल्क तिर्नुपर्ने अवस्था अन्त्यका लागि सरकाबाट सहयोग हुनुपर्ने आग्रह गरेका थिए ।