सुदूरपश्चिममा स्थानीय कर्मचारीको आन्दोलन स्थगित, ५ बुँदे सहमति


धनगढी । सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच पाँच बुँदे सहमति भएपछि कर्मचारीहरूले आन्दोलन स्थगित गरेका छन् ।
सहमति अनुसार, “सुदूरपश्चिम प्रदेश स्थानीय सेवा ऐन” अविलम्ब प्रदेश सभामा पारित गरी राजपत्रमा प्रकाशित गरिनेछ । साथै, कार्यान्वयनका लागि ऐन तत्काल स्थानीय तहमा पठाइनेछ ।
सरकारले नियमावली शीघ्र निर्माण गर्ने प्रतिबद्धता जनाएपछि कर्मचारीले आन्दोलन फिर्ता लिई आ–आफ्नो कार्यक्षेत्र फर्किने सहमति भएको हो ।
यसअघि ऐन नहुँदा वृत्ति विकास प्रभावित भएको भन्दै कर्मचारीहरूले २८ वैशाखदेखि चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।
सहमति पत्रमा सरकार र आन्दोलनरत पक्षका प्रमुख प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।