बेहडाबाबा मन्दिरमा जेठ २१ देखि गङ्गा दशहरा मेला हुने

धनगढी । कैलालीको बेहडाबाबा मन्दिरमा जेठ २१ देखि २५ गतेसम्म गङ्गा दशहरा पूजा तथा धार्मिक मेला आयोजना हुने भएको छ । हरेक वर्षजस्तै यस पटक पनि भारतसहित विभिन्न स्थानबाट श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
मेला व्यवस्थित गर्न मन्दिर व्यवस्थापन समितिले खानेपानी, विद्युत्, मेस, पूजा तथा लाइन व्यवस्थापन, सुरक्षा, स्वयम् सेवक परिचालन र प्रचारप्रसारसम्बन्धी समितिहरू गठन गरेको छ ।
मेला क्षेत्रको उत्तरमा इमली चोक, दक्षिणमा ब्युसाहा चोक–उर्मा जङ्गल, पूर्वमा कुण्डी टोल र पश्चिममा शिवगंगा नदीसम्म चार किल्ला तोकिएको छ । मेला क्षेत्रभित्र माछा, मासु, मदिरा बिक्रीमा प्रतिबन्ध लगाइएको छ ।
नियम उल्लङ्घन गरेमा १० हजार रुपैयाँसम्म जरिवाना र सामान जफत गरिनेछ । झैझगडा वा होहल्ला गर्नेहरूलाई ५ हजार जरिवाना गरिनेछ ।
व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले मेलाको सफलताका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।