शिक्षक महासंघले भन्यो– सहमति उल्लंघन भयो,फेरि आन्दोलन गर्छौं


काठमाडौं । संघीय संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले पेस गरेको प्रतिवेदनप्रति नेपाल शिक्षक महासंघले गम्भीर असन्तुष्टि जनाएको छ ।
गत चैत २० गतेदेखि आन्दोलनरत रही विद्यालय फर्किएको महासंघले उपसमितिको प्रतिवेदन आन्दोलनको मर्म विपरीत रहेको जनाएको हो ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुबेदीले सामाजिक सञ्जालमार्फत प्रतिवेदनप्रति असहमति जनाउँदै यसलाई “शिक्षक–कर्मचारी विरोधी” र “अनुदार” भनेका छन् ।
उनका अनुसार प्रतिवेदनले अस्थायी, करार, राहत, प्राविधिक, विशेष शिक्षा लगायतका शिक्षकका मुद्दा सम्बोधन गरेको छैन । सरुवा, बढुवा, विभागीय कारबाही लगायतका विषय अझ जटिल बनाइएको उनको आरोप छ ।
सुबेदीले बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको समस्या पनि बेवास्ता गरिएको भन्दै, विगतका सबै सहमति खारेज गरिएको जस्तो देखिएको उल्लेख गरे ।
उनले लेखेका छन्, “अब झन् दह्रो लडाइँ लड्नुको विकल्प छैन।”