बाजुराको मार्तडीमा पानीको हाहाकार, स्थानीय हैरान


बाजुरा । सदरमुकाम मार्तडीमा खानेपानीको चरम अभाव देखिएको छ। लामो समयदेखि परेको खडेरीले मुख्य मुहानहरू सुक्दा स्थानीयवासी दैनिक उपभोगका लागि आवश्यक पानी पाउन संघर्षरत छन् ।
स्थानीय जसबहादुर विकका अनुसार करिब एक महिनादेखि पानी अत्यन्तै न्यून आपूर्ति भइरहेको छ । “हरेक वर्ष चैतदेखि जेठसम्म यस्तै हुन्छ, समाधान कहिल्यै हुन्न,” उनले गुनासो गरे ।
समस्या समाधानमा उपभोक्ता समिति र नगरपालिकाबीच समन्वय कमजोर भएको भन्दै स्थानीय आक्रोशित छन् । यता नगर प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझीले भने डिभिजन खानेपानी कार्यालयसँग सहकार्य गर्दै काम अगाडि बढाइएको बताए ।
हाल ६ सय घरधुरीमा दैनिक एक पटक मात्र एक घण्टा पानी आपूर्ति भइरहेको मार्तडी बृहत् खानेपानी कार्यालयका व्यवस्थापक कर्णबहादुर रावलले जानकारी दिए । डोटी डिभिजनको ५० लाख सहयोगमा नयाँ योजनाबाट आपूर्ति गर्ने तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।
तर अहिलेसम्म पनि भम्क, थापाबाडा, पानीपाल र बाउलीका बासिन्दा गाग्री, टिन र जर्किनमा पानी बोक्दै टाढाबाट ल्याउन बाध्य छन् ।