गभर्नरमा आरजुका व्यापारिक साझेदार पौडेल नियुक्त

काठमाडौं । ललितपुरमा रहेको नेपालकै सबैभन्दा महंगो युलेन्स स्कुलका बोर्ड सदस्य रहेका कांग्रेस सभापति पत्नी आरजु राणा देउवाका व्यापारिक साझेदार तथा कांग्रेस पार्टीका सदस्य डा.विश्व पौडेल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका छन् । आरजुकै नजिक भएका कारण उनी योजना आयोका उपाध्यक्षसमेत भइसकेका व्यक्ति हुन् ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको छ । पौडेल यसअघि गभर्नर सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।
को हुन् प्रा.डा पौडेल ?
पौडेलले अमेरिकाको ‘बर्कले युनिभर्सिटी’बाट सन् २०१० मा विद्यावारिधि गरेका छन् । गत ०७९ को चुनावमा चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसको उम्मेवार बनेका पौडेल निर्वाचनमा भने पराजित भएका थिए ।
पौडेल युलेन्स स्कुलको ‘बोर्ड अफ ट्रस्टी’मा अगस्ट २०१९ देखि जुलाई २०२१ सम्म रहेका थिए ।
निर्वाचनमा हार बेहोरेपछि पौडेलले काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टमा भिजिटिङ प्रोफसर भएर काम गरे ।
यसअघि ७३ मेगावाट क्षमताको मिडल तमोर जलविद्युत कम्पनीको निर्देशक समितिको सदस्यका रूपमा समेत काम गरेका पौडेलले सानिमा बैंकको निर्देशक समितिको सदस्यका रूपमा समेत काम गरिसकेका छन् ।
विगतमा पौडेलले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) मा आर्थिक सल्लाहकार भएर समेत काम गरिसकेका छन्। पौडेल यसअघि एमसीसीअन्तर्गत मिलेनियम च्यालेन्ज नेपालको कार्यालयमा अर्थशास्त्री एवं विज्ञका रुपमा रहेका थिए ।
अर्थ मन्त्रालयमा वरिष्ठ आर्थिक सल्लाहकारको भूमिका निभाइसकेका पौडेल इसिमोडको गभर्नर बोर्डका पूर्वअध्यक्ष समेत हुन्।
त्यसैगरी, कोलम्बो योजना परिषदको अध्यक्ष र एसिया तथा प्रशान्त क्षेत्रमा क्षेत्रीय आर्थिक सहयोग तथा एकीकरणको समेत अध्यक्षका रूपमा उनले काम गरेका छन् । साथै, नेपाली उद्योग परिसंघ (सीएनआई) को प्रमुख आर्थिक सल्लाहकारको अनुभव पनि उनमा छ ।
सर्वोच्च अदालतमा डा.पौडेलविरुद्ध नेपाल राष्ट्रबैंकको ऐनविपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै गएको जेठको सुरुमा रिट नै समेत परेको थियो । अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले सर्वोच्चमा दायर गरेको रिट अदालतले जेठ २ गते दरपिठ गरिदियो ।
पौडेलसँगै गभर्नरमा कायममुकायम निलम ढुंगाना तिम्सिना र पूर्व सचिव दिनेश भट्टराईको नाम समेत सिफारिस भएको थियो । तर कांग्रेस सभापति शेरबहादुर देउवा परिवारको विश्वास पात्र भएकै कारण पौडेलले गभर्नरमा बाजी मारेका छन् ।