रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ नहुने भएको छ । बुधबार न्यायाधीश डा. नहकुल सुवेदी संवैधानिक इजलासमा परेकाले न्यायाधीश ढकाल र सुवेदीको संयुक्त इजलास बस्न नसकेपछि लामिछानेको निवेदनमा सुनुवाइ नहुने भएको हो ।
मंगलबारको सुनुवाइपछि न्यायाधीश सुवेदी र बालकृष्ण ढकालको इजलासले बुधबारका लागि निवेदनलाई निरन्तर सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैमा राखेको थियो । तर आज सर्वोच्च अदालत प्रशासनले नै निवेदनको सुनुवाइ स्थगित भएको भनी पेशी सूची प्रकाशित गरेको छ ।
मंगलबार लामिछानेको तर्फबाट सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दिपेन्द्र झा, नारायणदत्त कँडेल, विवेक राउतलगायतले बहस गरेका थिए ।
पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट दायर मुद्दा समेत सँगै रहेकाले उनका कानुन व्यवसायीले पनि बहस गर्ने र त्यसपछि पीडित र सरकारी वकिलले बहस गर्नुपर्ने हुन्छ ।