भारतमा विद्युत् निर्यात शुरु


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘लोडसेडिङ भयो’ भन्ने चर्चा आधारहीन हल्ला मात्र भएको बताएका छन् ।
प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री खड्काले नेपालले हाल आन्तरिक विद्युत् माग पूरा गरेपछि भारततर्फ निर्यात शुरु गरेको जानकारी दिए ।
उनका अनुसार वर्षा सुरु भएसँगै उत्पादन बढेपछि भारतबाट आयात बन्द गरी ७३१ मेगावाट विद्युत् भारतलाई निर्यात गरिएको छ ।
मन्त्री खड्काले लोडसेडिङ नभई मर्मत, हावाहुरी वा प्राविधिक समस्याका कारण केही ठाउँमा अस्थायी अवरोध हुन सक्ने बताए ।
विदेशबाट आएका रातको फोन र गुनासोलाई नियोजित भ्रम फैलाउने अभियानको रूपमा चित्रित गर्दै उनले यस्ता हल्ला होइन, प्रमाणमा आधारित जानकारीमा विश्वास गर्न आग्रह गरे ।
उनले देशमा अहिले आवश्यकताभन्दा बढी विद्युत् उत्पादन भइरहेको र लोडसेडिङको कुनै खतरा नरहेको स्पष्ट पारे ।