Ad Image

झापामा साझा समस्याको समाधानका लागि पालिका प्रमुखहरू एकजुट

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/jhapa palika pramukha.jpg

झापा । झापाका पालिका प्रमुखहरूले जिल्लाका साझा समस्याको समाधानमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । 

कनकाई नगरपालिकामा आयोजित परामर्श बैठकमा सहभागी प्रमुखहरूले लागुऔषध नियन्त्रण, फोहोरमैला व्यवस्थापन, खेलकुद प्रवर्द्धन, कर र भाडादरमा एकरूपता, पशु सेवा, नदीजन्य उत्खनन नियन्त्रण लगायत विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले लागुऔषध दुर्व्यसनका लागि होल्डिङ सेन्टर र उद्यमशीलता कार्यक्रमको प्रस्ताव राखेका छन् । बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा, शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँ, कचनकबल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह, गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष फुलवती राजवंशी लगायतले आ–आफ्नो अनुभव सुनाउँदै समस्या समाधानमा साझा कार्ययोजना आवश्यक रहेको बताए ।

पालिकाबीच समन्वय गरी खेलकुद प्रशिक्षण केन्द्र निर्माण, मानव सेवा आश्रममा सहयोग, पशु उपचार सेवा वैज्ञानिक बनाउने, नदीजन्य उत्खननमा पालिकाको अधिकारको सम्मान, कर र खाद्य सुरक्षामा एकरूपता, र बीमा रकम भुक्तानी ढिलाइजस्ता विषयमा आवाज उठाइएको थियो ।

बैठकले पालिकाबीच सहकार्य र समन्वय संघीयताको अभ्यासका लागि जरुरी भएको निष्कर्ष निकालेको छ ।