Ad Image

जनताको पैसामा तीनपाटनका जनप्रतिनिधिहरुको ‘भोज’–वडा कार्यालय उद्घाटनमै २ लाख खर्च

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/tinpatan.jpg

सिन्धुली । तीनपाटन गाउँपालिकाको वडा नम्बर ४ को नवनिर्मित भवन उद्घाटनमा झण्डै दुई लाख खर्च भएको विवरण वडा कार्यालयले सार्वजनिक गरेको छ । तीनपाटनको लुभु डाँडामा रहेको वडा नम्बर ४ को प्रशासकीय भवन गएको फागुन ५ गते उद्घाटन भएको थियो । वडा कार्यालयले सार्वजनिक गरेको भवन उद्घाटनको खर्चमा एक लाख ७८ हजार ६ सय खर्च भएको देखाइएको छ । खर्चका विवरणमा बियरदेखि रेडबुलसम्मका समेटिएको छ । 

यस्तो छ खर्चको विवरण–

यस विषयमा तीनपाटन-४ का वडाध्यक्ष खड्ग बहादुर भुजेलले गाउँपालिकाबाटै भवन उद्घाटन कार्यक्रममा दुई लाखसम्म खर्च गर्न पाउने प्रावधानअनुसार आफूहरुले खर्च गरेको बताए । भव्य रुपमा भवन उद्घाटन कार्यक्रम गरेर करिब दुई लाखको खर्च विवरण सार्वजनिक गरेको वडा कार्यालयलाई भवन निर्माणको लागतका विषयमा भने कुनै जानकारी छैन । वडाध्यक्ष भुजेलले भने, ‘ठेक्का लगाउने, बजेट विनियोजन गर्ने सबै काम गाउँपालिकाबाट हुन्छ । हामीलाई भवन निर्माण लागत कति हो भन्ने बारे थाहा छैन । उद्घाटन कार्यक्रममा दुई लाखसम्म खर्च गर्न पाउने गाउँपालिकाले निर्णय गरेको छ । हामीले एक लाख ७८ हजार मात्र खर्च गरेका छौं ।’

यस विषयमा तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगरले गाउँघरको सार्वजनिक कार्यक्रममा दुई लाखसम्मको खर्च सामान्य हुने बताए । उनले भने, ‘गाउँघरको कार्यक्रममा दुई लाखसम्मको खर्च सामान्य हुन्छ । सबैलाई बोलाउनुपर्यो, खुवाउनुपर्यो यतिको खर्च हुन्छ भन्ने सोचेरै कार्यपालिका बैठकबाट सार्वजनिक कार्यक्रमको खर्च अधिकतम २ लाख रुपैयाँ हुने निर्णय गरेका हौं ।’ अध्यक्ष मगरले खर्च विवरण हेरेर अनावश्यक शीर्षकका खर्च भने पास नगर्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीले वडा कार्यालयको भवन उद्घाटनमा धेरै खर्च हुन थालेपछि दुई लाखसम्म मात्र खर्च गर्न पाउने कार्यपालिकाले निर्णय गरेको तर बजेट नै छुट्याएको भने नभएको बताए । उनले खर्च विवरण हेरेर सोही अनुसार बजेट छुट्याइने समेत बताए । 

भवन निर्माण भएपछि उद्घाटन कार्यक्रममा त दुई लाखसम्म खर्च देखाउने जनप्रतिनिधिहरुले भवन निर्माण गर्दा भने कतिसम्म खर्च गरे होलान् ? यो आम नागरिकको चासोको विषय हो । तर उद्घाटन कार्यक्रमको खर्च विवरणमा गरिएको प्रश्नले तर्सिएका जनप्रतिनिधिहरुले भवन निर्माणको लागतका विषयमा एकअर्कालाई देखाउँदै बोल्नै चाहेनन् । यकिन विवरण दिन नसकेपनि लगभग लागेको लागत त जनप्रतिनिधिलाई पक्कै थाहा हुनुपर्ने हो । तर प्रमुख प्रशासकीय अधिकृतले समेत लागतका विषयमा थाहा नभएको र अहिले आफू बाहिर रहेको भन्दै तर्किए ।