ट्रम्पलाई धन्यवाद दिँदै मस्कले गरे सरकारबाट बाहिरिने घोषणा


काठमाडौं । विश्वकै धनाढ्य अर्बपति इलन मस्कले ट्रम्प सरकारबाट बाहिरिएको घोषणा गरेका छन् । मस्कले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै ट्रम्प सरकारमा आफ्नो जिम्मेवारीको अन्त्य भएको घोषणा गरेका छन् । अमेरिकी सरकारका विभिन्न निकायमा रहेको अनावश्यक खर्च कटौती गर्ने आफ्नो मिसनमा काम गर्ने अवसरका लागि पनि उनले ट्रम्पलाई धन्यवाद दिएका छन् ।
दोस्रो कार्यकालका लागि डोनाल्ड ट्रम्पले सत्ता सम्हालेसँगै उनलाई अमेरिकी सरकारको प्रभावकारिता बढाउने विशेष विभाग ‘डज’ को नेतृत्व सुम्पिएका थिए । सरकारका विभिन्न निकायमा भइरहेको लगभग २० खर्ब अमेरिकी डलर खर्च बचाउने घोषणासहित ट्रम्प सरकारमा सहभागी भएका मस्कले २ महिनामै सो रकमलाइ १ खर्ब ५० अर्ब अमेरिकी डलरमा झारेका थिए ।
ट्रम्प सरकारको शुरूवातमा जताततै देखिएका मस्क पछिल्लो एक महिनामा खासै सार्वजनिक रूपमा देखिएका छैनन् । मस्कको कार्यशैलीका कारण एकपछि अर्का अमेरिकी नेताहरूसँग विवाद हुन थालेपछि मार्चको अन्त्यतिर ट्रम्प आफैँले मस्कले अब सरकार छोड्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।