जुम्लाको घोडे गाउँमा मिल सञ्चालन हुँदा स्थानीयलाई सहज


जुम्ला । जुम्लाको तिला गाउँपालिका–६ मा रहेको घोडे गाउँमा कुटानी–पिसानी मिल सञ्चालनमा आएपछि स्थानीयलाई सहज भएको छ ।
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको रु १५ लाखबाट सौर्य ऊर्जाबाट सञ्चालन हुने गरी गाउँमा पहिलोपटक मिल सञ्चालन भएको वडाध्यक्ष जङ्ग रोकायाले जानकारी दिए ।
विगतमा मिल नहुँदा यहाँका स्थानीयले कुटानी–पिसानीका लागि दुःख पाउने गरेका थिए । वडाध्यक्ष रोकायाले भने, “पीठोलगायत अन्य कुटानी–पिसानीका लागि दुई घण्टा हिँडेर जानुपर्ने बाध्यता थियो । हिउँदेयाममा चैत, वैशाख, जेठमा सुक्खा खडेरीका कारण खोला सुकेपछि घट्ट चल्न बन्द हुने गरेकाले छिमेकी गाउँ सुडी, रिपी र कालीकोट जिल्लाको रताड जानुपर्ने बाध्यता थियो । अब सो समस्या हटेको छ, गाउँमै कुटानी–पिसानी हुन थालेको छ ।”
मिल स्थापना भएपछि गहुँ मकैलगायत अरू अन्न कुटानी–पिसानीका लागि करिब तीन घण्टा हिँडेर घट्ट जानैपर्ने बाध्यता हाल अन्त्य भएको स्थानीयवासी दिनेश रोकाया बताउँछन् ।