Ad Image

संरक्षणको पर्खाइमा सेल्मे फलाम खानी

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Bhojpur Falam.jpg

भोजपुर । नेपाल खनिज पदार्थको राम्रो सम्भावना बोकेको देश हो । देशका धेरै ठाउँमा फलाम खानी रहेका छन् । कतिपय फलामलगायतका खनिज उद्योगहरु सञ्चालनपश्चात् बन्द भएका पनि छन् ।

आफ्नै देशमा रहेका फलाम खानी बन्द हुँदा बाह्य मुलुकबाट फलाम आयात गर्नुपर्ने देशको बाध्यात्मक अवस्था छ । यस्तै चपेटामा परेको छ भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको ‘सेल्मे फलाम खानी’ । 

विसं २०१३ सम्म सञ्चालनमा रहेको सेल्मे फलाम खानी अहिले बन्द छ । करिब १५० वर्षको इतिहास बोकेको यो खानी अहिले बन्द अवस्था छ । बन्द भएको लामो समयपछि अहिले यो फलाम खानी सञ्चालनका लागि राज्यले ध्यान दिनुपर्नेमा स्थानीयवासीले माग गरेका छन् ।

दशकौँ अघिसम्म यहाँका कालिगडले यहीँ उत्पादन भएको फलामबाट सामग्रीहरु बनाउँदै आएका थिए । यहाँको फलाम खानी बन्द भएपछि अन्यत्रबाट ल्याइएको फलाममा निर्भर बन्नुपर्ने अवस्था रहेको स्थानीय कालीगडहरु बताउँछन् । राज्यले आवश्यक सम्भावनाको खोज अनुसन्धान गरेर यहाँको खानी सञ्चालन गरिदिए सहजता हुने उनीहरुको भनाइ छ ।  

सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् । तत्कालीन समयमा जिल्लासँगै बाह्य जिल्लामासमेत यहाँबाट निकालिएको फलाम निर्यात हुने गरेको स्थानीय जानकारहरु बताउने गर्दछन् । 

सेल्मे फलाम खानी ऐतिहासिक फलाम खानी रहेकोले राज्यले आवश्यक अध्ययन गरेर उत्खनन्का लागि पहल गर्नुपर्ने स्थानीय कालीगड मनकुमार विश्वकर्मा बताउँछन् । सेल्मेको फलाम उत्कृष्ट मानिने उनको भनाइ छ । यहाँको फलाम खानीलाई सञ्चालनमा ल्याउनसके स्थानीयको आर्थिक अवस्थामासमेत सुधार आउने विश्वकर्माको भनाइ छ ।

“राज्यले सेल्मे फलाम खानीको सञ्चालनका लागि अध्ययन अनुसन्धान गर्न आवश्यक छ”, उनले भने । यहाँ  फलाम उत्खनन गरिएका खाल्डाहरुसँगै फलामका धाउ तथा किट अहिले पनि देख्न सकिन्छ । यहाँको फलामलाई निकै उत्कृष्ट फलामका रुपमा लिइन्छ । यहाँका फलामबाट सयौँ वर्षअघि निर्माण गरिएका सामग्री अहिले पनि गाउँघरमा पाइन्छ ।

अग्रजहरुले यहीँको फलाम प्रयोग गरेर कालीगड पेसा गरिरहेको भए पनि अहिलेको पुस्ताले बाहिरको फलाम खरिद गरेर पेसा धान्नुपर्ने अवस्था रहेको विश्वकर्मा बताउँछन् । सेल्मे गाउँका धेरैले व्यावसायिक रुपमा कालीगड पेसा गर्दै आएको भए पनि विभिन्न समस्याका कारण पेसा छोड्नेको सङ्ख्या बढ्दै भएको उनको भनाइ छ । यो खानी सञ्चालन भए स्थानीयस्तरमा रोजगारीको सिर्जना हुने उनको भनाइ छ । 

सेल्मेमा उत्खनन गरिएको फलाम निकै उत्कृष्ट रहेकाले अहिले पनि गाउँघरमा यहाँका फलामबाट निर्माण गरिएका सामग्री पाउन सकिने स्थानीय कालीगड हर्कराज विश्वकर्माले बताए । आफ्ना पुर्खाले यही नै फलाम उत्खनन गरेर आवश्यक सामग्री निर्माण गर्ने गरेको उनको भनाइ छ । 

भोजपुरे खुकुरी भोजपुरको गौरव रहेकाले यहीँको फलामको प्रयोग गरेर उद्योग सञ्चालन गर्न सकिने अर्का कालीगड तीर्थकुमार विश्वकर्माकोे भनाइ छ । यहीँको फलाम प्रयोग गरेर खुकुरी बनाउन सके भोजपुरको पहिचानलाई विश्वसम्म पु¥याउनमा सहयोग पुग्ने उनको धारणा छ ।

“भोजपुर खुकुरीले चिनिएको जिल्ला हो”, उनले भने, “यहाँ धेरै प्रकारका भोजपुरे खुकुरी बन्छन् । विडम्बना यहाँको फलाम खानी बन्द हुँदा आयातित फलामबाट बनाउनुपर्ने अवस्था छ । यहिको फलामबाट बनाउने हो भने यसले छुट्टै महत्व झल्काउने थियो ।”

सेल्मे क्षेत्रका करिब नौ परिवारले अहिले पनि व्यावसायिक रुपमा कालीगड पेसा गरिरहेको छन् । “बाजेबराजुले यहिको फलामबाट आरन उद्योग सञ्चालन गर्नु हुन्थ्यो”, उनले भने, “हाम्रो पालोमा आउँदा खानी बन्द भएको अवस्था छ ।”

तीन\चार पुस्ताअघि अर्थात् करिब १५० वर्षअघिदेखि फलाम खानी सञ्चालन भएको र करिब २०१३ सालसम्म सञ्चालनमा रहेको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताए । उनका अनुसार यहाँको सेल्मे, देवी खोला, छोक्लालगायत स्थानमा फलामको धाउ पाइन्छ । सेल्मे क्षेत्रमा रहेको फलाम खानीलाई पुनःसञ्चालन गर्न सकिएमा हजारौँलाई रोजगारी दिन सकिने सम्भावना रहेको उनको भनाइ छ ।

देशकै सम्पत्तिका रुपमा रहेको सेल्मे फलाम खानीलाई सञ्चालनका लागि राज्यले ध्यान दिन जरुरी रहेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए । यो फलाम खानी सञ्चालनको लागि प्रदेश सरकार र केन्द्र सरकारले ध्यान दिन आवश्यक रहेको वडाध्यक्ष माङ्गपाहाङ्गको भनाइ छ ।

“यो खानी सञ्चालनका लागि वडा तहबाट काम गर्न सकिने अवस्था छैन”, उनले भने, “हाम्रो तहबाट राज्यको निकायमा यहाँको सम्भावनाको विषयमा जानकारी गराइरहेका छौँ । यसलाई सञ्चालनमा ल्याउनसके भोजपुरको मात्र नभएर देशको आर्थिक अवस्थामा टेवा पुग्ने देखिन्छ ।”