बजेट काल्पनिक होइन, यथार्थपरक छ : अर्थमन्त्री पौडेल


काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२\०८३ का लागि ल्याइएको बजेटलाई यथार्थपरक भएको दाबी गरेका छन् ।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बजेट आम्दानी र खर्च दुबै पक्षमा यथार्थमा आधारित रहेको बताएका हुन् ।
“यो बजेट काल्पनिक होइन, राजस्व संकलनदेखि खर्चको अनुमानसम्म यथार्थपरक बनाइएको छ,” पौडेलले भने ।
उनका अनुसार बजेटको कुल आकार १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ छ । त्यसमा चालु खर्चका लागि ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन गरिएको छ ।
बजेट कार्यान्वयनका लागि सरकारले कुल स्रोत राजस्व, अनुदान र ऋणबाट जुटाउने योजना बनाएको उनले बताए । जसअनुसार १३ खर्ब १५ अर्ब राजस्व, ५३ अर्ब ४५ करोड वैदेशिक अनुदान, २ खर्ब ३३ अर्ब वैदेशिक ऋण र ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट जुटाइनेछ ।