Ad Image

विज्ञहरुको सुझाव–सुर्तीजन्य पदार्थ नियन्त्रणमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्छ

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/surti.PNG

काठमाडौं । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् । 
 
आज यहाँस्थित काठमाडौँ महानगरपालिका–७, स्वास्थ्य मन्त्रालय र हेल्थ टुडे मिडियाको संयुक्त आयोजनामा ‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी सरोकारवालाहरुबीच अन्तरक्रिया’ गरेको थियो ।
 
अन्तरक्रियामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी डा भक्तबहादुर केसीले सुर्तीजन्य पदार्थ नियन्त्रण एवं नियमन सङ्घीय सरकारको प्रयासले मात्र सम्भव नहुने बताए। स्थानीय सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो । 
 
नेपालमा नसर्ने रोगको बढ्दो प्रकोपका कारणमध्ये सुर्तीजन्य पदार्थको सेवन  प्रमुख भएको बताउँदै डा केसीले कानुनले सार्वजनिक स्थालमा सुर्तीजन्य पदार्थ सेवन निषेध गरे पनि व्यवहारमा पालना हुन नसकेको औँल्याए । 
 
सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउन स्थानीय सरकारले कदम चाल्नुपर्ने र यसले धेरै हदसम्म कानुन कार्यान्वयन हुने डा केसीको भनाइ छ । उनले भने, “नेपालमा वर्सेनि ३० हजार मानिसको मृत्युको कारण सुर्तीजन्य पदार्थ सेवन हो । यो तथ्याङ्कमा सबैले ध्यान दिन आवश्यक छ ।”  
 
नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अनुसन्धान विज्ञ डा जयकुमार गुरुङले सुर्तीजन्य पदार्थमा करको दर बढाउनुपर्नेमा हिजो ल्याएको बजेटमा एकदमै न्यून रुपमा कर बढाएकोमा आपत्ति जनाए । डा गुरुङले खुद्रा व्यापारीले अनिवार्य रुपमा वडामा दर्ता गराएर मात्र सुर्तीजन्य पदार्थ बिक्री  गर्ने व्यवस्था गर्नुपर्ने र सार्वजनिकस्थलको १०० मिटर दूरीभित्र्र   स्थानीय निकायले बेचविखन गर्न दिन नहुनेमा जोड दिए। 
 
डा गुरुङले भने, “काठमाडौँ महानगरपालिकाका सबै वडाहरुले एकीकृत रणनीतिक योजना बनाएर अगाडि बढ्नुपर्छ ।” उनले इलाम नगरपालिका र वालिङ नगरपालिकाले उत्कृष्ट काम गरेको उदाहरण प्रस्तुत गर्दै कामपाले पनि गर्न सक्ने बताए। 
 
काठमाडौँ महानगरपालिका–७ का वडा अध्यक्ष विमलकुमार होडाले आफु चार दशकदेखि सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनमा सक्रिय भइरहेको बताए। सरकारले बन्द भएको जनकपुर चुरोट कारखाना फेरि खोल्ने बजेटमार्फत गरेको घोषणाको विरोध गर्दै वडाध्यक्ष होडाले चुरोट कारखाना खोल्नेभन्दा औषधि कम्पनी खोल्नुपर्नेमा जोड दिए । सुर्तीजन्य पदार्थ नियन्त्रणमा आफ्नो वडालाई नमूना वडाको रुपमा विकास गर्ने होडाले दाबी गरे। 
 
कार्यक्रममा वरिष्ठ स्वास्थ्य पत्रकार एवं हेल्थ टुडे मिडियाका अध्यक्ष पदमराज जोशीले सुर्तीजन्य पदार्थ सेवन गर्नु फाइदाजनक नभएको धेरैलाई जानकारी भए पनि चेतनाको अभावमा व्यवहारमा लागू गर्न नसकिएको बताए ।